जिल्लाको परिचय

नेपालको पहाडी भू भागमा अवस्थित काठमाण्डौ जिल्ला प्रदेश नं. ३ मा अवस्थित छ । यस जिल्लाको क्षेत्रफल ४१,२०२ हे. रहेको छ भने सदरमुकाम काठमाण्डौमा नै रहेको छ साथै नेपालको राजधानी पनि हो । काठमाण्डौ जिल्ला पूर्वबाट पश्चिमतिर फैलिदै दक्षिण तर्फ मोडिएको र पूर्वमा सिन्धुपाल्चोक, भक्तपुर र ललितपुर, पश्चिममा मकवानपुर, धादिङ, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक र दक्षिणमा भक्तपुर, ललितपुर र मकवानपुर जिल्लासंग जोडिएको छ । हाल नेपालको संविधानको धारा २९५ को उपधारा ३ बमोजिम मन्त्री परिषद्को मिति २०७३।११।२७ को निर्णय अनुसार काठमाण्डौ जिल्लामा १ महानगरपालिका र १० नगरपालिका गरी जम्मा ११ वटा स्थानीय तह कायम भएको छ ।

डि व का. काठमाण्डौको परिचय

नेपालमा वन व्यवस्थापनको कार्य वि.सं. १९९९ सालदेखि सुरु भएको पाइन्छ । सर्वप्रथम, (आश्विन २०१६) काठमहल अड्डाको स्थापना गरी त्यस अन्तर्गत तीन सर्कल र १२ वन जाँच अड्डा हुँदै विभिन्न सर्कल, डिभिजन, सि.सि.एफ. कार्यालय तथा प्रधान वन कार्यालयको नाममा वनको संरक्षण तथा व्यवस्थापन भएको पाईन्छ । वि.सं. २०४० सालमा आएर विकेन्द्रिकरण प्रक्रियासँग मेल खानेगरी पाँचवटा क्षेत्रीय वन निर्देशनालय र आ.व. २०४३।२०४४ सम्मा राज्यका ७५ वटै जिल्लाहरुमा जिल्ला वन कार्यालयहरु (पछि वि.सं. २०५० सालमा मुस्ताङ जिल्लाबाट हटाइए पछि ७४ जि.व.का. कायम रहेको) स्थापना गरिए । त्यस क्रममा काठमाण्डौ जिल्लाको वन सम्पदाको वैज्ञानिक व्यवस्थापन , वनको सीमांकन, नियन्त्रण र संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई समेत कायम राख्दै वन सम्पदाको उचित प्रयोग गरी वनजन्य श्रोतलाई पुनः सिर्जना हुन दिने प्रक्रिया अपनाउने, वैज्ञानिक तथा आर्थिक दृष्टिकोणलाई बढी महत्वपूर्ण हुने वन्यजन्तु र वनस्पतिको लेखाजोखा गरी दिगो व्यवस्थापन गर्ने र सर्वसाधारणलाई आवश्यक पर्ने काठ, दाउरा, डालेघाँस, जडीबुटी तथा अन्य वन पैदावारको न्यायोचित रुपमा वितरण गर्ने उद्धेश्यले डिभिजन वन कार्यालय काठमाण्डौ स्थापना भएको पाइन्छ ।

डिभिजन वन कार्यालयको मूख्य कार्यहरु

डिभिजन वन कार्यालयको मूलभूत कार्यहरु देहाय बमोजिम छन्ः


१. सरकारी वनको संरक्षण, सम्बद्र्धन तथा सदुपयोग गर्ने ।

२. जिल्लाको वन विकास कार्यमा जनसहभागिता जुटाई कार्य सञ्चालन गर्ने

३. प्रचलित ऐन, नियम र नीति अनुसार सम्भाव्य सामुदायिक, कबुलियती, संरक्षित तथा धार्मिक वन क्षेत्रहरुको पहिचान, विकास एवं व्यवस्थापन गर्ने ।

४. स्थानिय तह, उपभोक्ता र स्थानीय वासिन्दाहरुको सहकार्यमा शहरी वनको विकास गर्ने ।

५. नेपाल सरकारको वनसँग सम्बन्धित ऐन, नियम र निर्देशनहरुको प्रभावकारी कार्यान्वयन गर्ने ।

६. जिल्लामा निजी वन कृषि वन प्रणालीको विकास एवं विस्तार गर्ने र आवश्यक सीप र ज्ञान हस्तान्तरण गर्ने ।

७. जिल्ला स्तरिय पञ्चवर्षिय एवं वार्षिक योजना तर्जुमा गरि स्वीकृत गराई सोही योजना बमोजिम कार्य गर्ने ।

८. जिल्ला स्तरिय सरकारी, स्थानीय निकाय र गैरसरकारी संघ संस्थाहरुसँग समन्वय विस्तार गरि स्थानीय स्तरका वन विकास एवं व्यवस्थापन कार्यहरु संचालन गर्ने ।

९. जिल्लामा सञ्चालित वन विकास कार्यक्रमको प्रगति विवरणको साथै अनुगमन प्रतिवेदन प्रदेश मन्त्रालय, वन तथा भू संरक्षण विभाग, वन निर्देशनालय र अन्य सम्बन्धित निकायमा पेश गर्ने ।

१०. वन व्यवस्थापन, वृक्षारोपण, जैविक विविधता तथा वातावरण संरक्षण सम्बन्धी जानकारी सर्वसाधारणलाई उपलब्ध गराउने ।

११. दिगो वन व्यवस्थापनको लागि कार्यक्रम तर्जुमा गरि सम्बन्धित निकायमा पेश गर्ने र स्वीकृत भई आएपछि कार्यान्वयन गर्ने ।

१२. वन अतिक्रमण नियन्त्रण गरी वन, वनस्पती, वन्यजन्तु तथा जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा सदुपयोग गर्ने ।

१३. प्रदेश मन्त्रालय लगायत माथिल्लो निकायले तोकेको अन्य कार्यहरु गर्ने गराउने।

संक्षिप्त काठमाण्डौ जिल्लामा भएको वनको जानकारी

वि.सं. २०१८ सालमा वन डिभिजन कार्यालय स्थापना भए पश्चात जिल्लाका सम्पूर्ण वनक्षेत्रहरुको योजनाबद्ध रुपमा व्यवस्थापन हुन थालेको हो । यस जिल्लाको कुल क्षेत्रफलको ३६.९४ प्रतिशत (१५२७९ हे.) वन क्षेत्र रहेको छ । मिति २०७२।१२।१५ को राजपत्रानुसार शिवपुरी नागार्जुन रा.नि.को मध्यवर्ति क्षेत्रमा यस जिल्लामा रहेका आ.व. २०७२।०७३ सम्म गठन तथा दर्ता रहेका १७४ वटा सा.व. मध्ये ३१ वटा रा.नि.को मध्यवर्ति क्षेत्रमा गाभिएका र हाल यस जिल्लामा १४२ वटा सामुदायिक वन उपभोक्ता समूह तथा उक्त समूहहरुको जम्मा ६३६२.१८ हेक्टर कायम भएको छ । व्यवसायिक कबुलियति वनको रुपमा ४ वटा संस्थालाई ७१.०३ हे. तथा अन्य प्रयोजन (सडक, विद्युत) को रुपमा ७ वटा संस्थालाई ३६.२४ हे गरी कुल क्षेत्रफल १०७.२७ हे. वन क्षेत्र हस्तान्तरण गरिएको छ । धार्मिक वनको रुपमा ८ वटा संस्थाहरुलाई क्षेत्रफल ४३.४८ हे. हस्तान्तरण गरिएको छ । कबुलियती वन तथा अन्य संस्थाहरुलाइ उपलब्ध गराएको मध्ये ९५ रोपनि सट्टाभर्ना समेत भएको छ । हाल सम्म निजी वन ६ वटा २.५५ हे. दर्ता गरिएको छ ।

पछिल्ला सूचना

पछिल्ला कार्यक्रम

पछिल्ला सामग्री